जराहरू
जराहरू
घर अगाडी एउटा बुढो रुख थियो-काटियो
यतिखेर रुख ढलेको छ
के के हराए जस्तो भएको छ
गुमाए जस्तो भएको छ
तर घरले छितिज देखेको छ
हिजो रुखहरूले झपक्क ढाकेका/थिचिएकाहरु आज जुर्मुराएका छन
बर्षौ बर्ष छेकिएको न्यानो घाम आँगनमा ओर्लने आशा जगाएका छन
सायद अब आँखाहरुले पहाड़ कन्दरा सम्म देख्ने छन!
सीतलता र छाहरी भन्दै रुखको ओसमा बस्दा बस्दा
रुखका जराहरूले घर,पर्खाल चिरा पारेको थाहै भएन छ
आज बल्ल बल्ल एउटा बुढो रुख ढालिएको छ!
चौतारो बन्न नसकेको रुख काटिएको छ ,
अब,
भित्र भित्र जकडीएका जराहरू निकाल्नु छ
जराहरूले चिरेका घरका भित्ता,पर्खाल र जगहरू
पुनर्निमाण गर्नु छ.
अब रुखहरुको ठाउँमा फूलहरु रोप्नु छ!
तर साबधान!!
बुढा रुखका जराहरू सुक्न नपाउदै मुडाहरुबाट टुसा पलाउन सक्छ
बुढा रुखहरुको बिरोधमा जन्मेका नया रुखहरूले ज़रा गाड़न सक्छ
र फेरी पनि सीतलता र छाहरीको भ्रममा उजेलो छेक्न सक्छ!!
त्यसैले..
घर अगाडी अब कहिल्यै रुख रोप्नु भएन
जराहरूले राज गर्न सक्छ…
चट्याङ पार्न सक्छ
जराहरू जमिनलाई सुहाउछ
जराहरूले देशलाई सुकाउछ
रुखले घरको सुन्दरता छेकाउछ
अब रुखको दुःख होइन फूलहरुको सुख खोजौ
फूलहरूले कसैलाई दुखाउदैन
फूलहरुले कहिल्यै गहिरो जरा गाडदैन
फूलहरूले बगैचाका अन्य फूलहरुको बिरोध गर्दैन
तर …
के तिमी फूल बनेर घरको शोभा बढाउन सक्छौ?
