सहदेव र श्रृजना ~World of Words by Sahadev~

December 17, 2008

रित्ता बट्टाहरु !

Filed under: Poem
रित्ता बट्टाहरु
अस्ति घर आउदा म भरी थिए
तिनीहरूले जतन गरी राखे!
खसेर म फुटुला वा कुचिउला भन्ने चिन्ताले होइन की,
म भित्रको "म" पोखिएला भनेर,
जतन गरी राखे!
एक दिन दुई दिन गर्दै ….
एक एक चम्चा ..एक एक मुठी म भित्रबाट झिकी रहे,
म रित्तिदै गए…खाली भए,
म त बट्टा न हु
तिनीहरूले फाली दिए,
अर्कैले उठायो!
राम्रो देख्यो,पुछ पाछ गर्यो
अनि आफ्नै रोजाईको "म " भित्र राख्यो.
जतन गरी राख्यो.
खसेर फुटुला वा कुचिउला भन्ने चिन्ताले होइन की.
म भित्रको त्यों "म" पोखिएला की भनेर!
फेरी त्यसै  गरी एक एक चम्चा..एक  एक मुठी
म भित्र बाट झिकिरहे!
म रित्तिए ..म बट्टा  न हु…तिनीहरूले फेरी फालिदिए..
यो क्रममा म कोत्रिए,कुचिए!
लाग्यो अब त जीबनमा प्वाल पारिदिउ  
अनि कसैले केही राख्नै    नसकोस !
तर रित्ता बट्टाहरुमा सानो प्वाल परे तिनीहरु प्वाल भन्दा ठुलो "म" राखी दिन्छन!
फेरी तेसै गरी सजाउछन रित्ता बट्टाहरु !
सायद रित्ता बाट्टाहरुको आफ्नो खुशी छैन!
आफ्नो पन छैन!
आफ्नो भन्ने त शुरुकै "तिनीहरूले"
एक एक गरी रित्ताई सके ,
अब त केबल कच्याक कुच्चुक हुनु छ.
थोत्रो हुनु छ…पुरानो हुनु छ…प्वाल पर्नु छ.
अनि मात्र तिनीहरूले आफ्नो "म" राख्न  पाउने छैनन,
सजाउन पाउने छैनन् !
तर सुनेको छू…
रित्ता बट्टाहरु प्वालै परे पनि कच्याक कुच्चुक परे पनि
पुन प्रयोग गरिन्छ रे….नया बनाईन्छ रे!
र फेरी भरी पूर्ण गरेर जतन साथ नरित्तिउनजेल  सजाइन्छन रे!
रित्ता बट्टाहरु !

आशा अमेरिकामा

Filed under: Guff Suff

                                            

आशा अमेरिकामा
                                                                                                                                सहदेव पौडेल

दिपा भाउजुले  भोट हाल्न नपाएपनि बाराक ओबामाले रास्ट्रपति चुनाब जीते हुन्थ्यो भनेर कामना गरेकी थिईन  किनभने ओबामा  रास्ट्रपति भए दिपा जस्तै लाखौ आप्रबाशिहरू जो बर्षौ देखि परिवार र देशसंग टाढिएका मात्रै छैनन यो स्वप्न भूमिमा कानूनी कागज़ पत्र बिना काम गर्नु परेको छ, बस्नु परेको छ जसको कारण कामबाट हुने तनाब देखि अन्य मानसिक डरले दिन बिताउनु परेको छ.अमेरिका छोडेर गएपछि पुन फर्केर आउन पनि सकिन्न.उनी जस्तै धेरैको एउटै उद्देश्य छ यहाँ कानूनी रुपमा बस्न र काम गर्न पाइयोस .समय समयमा आफ्नो जन्म देश पनी जान पाइयोस.  सकियो भने आफ्ना मायालुहरुलाई यसै देशमा लेराउन  सकियोस जसको लागी ग्रीन कार्ड पाइयोस र कतै बराक ओबामाको कार्यकालमा यहाका लाखौ यस्ता बासिन्दाले केही न केही राहत पो पाउछन की?
      दिपा भाउजु नेपाल छाडदा  छोरा छोरी ६,७ कक्षामा  पढ्थे .आज उनीहरूले १०+२ पनि सकिसके.नेपालमा हुदा राम्रै काम भएपनि बहिनीको बिबाहको लागी अमेरिका आइसकेपछि  नेपालको तत्कालीन युद्द  मौशम देखेर फर्कन मन लागेन.यतै बसी केही कागज पत्र बने सबैलाई राम्रो हुन्थ्यो भन्ने चाहका साथ   बस्दा बस्दा समय बितेको पत्तै भएन .दिपा भाउजु एक उदाहरण मात्र हुन उनी जस्ता थुप्रै  आमा ,श्रीमती,छोरीहरू परिवार बिछोड भएको बर्षौ  भई सक्यो.यसरी बिछोड भएर बस्ने हरुमा हाम्रै  दछिण एशियाली देशको कुरा गरौ वा मेक्सिको वा चीनका लाखौ आमा-बा साना छोरा छोरीलाई छोडेर परदेश लागेको  वा युवा छोरा -छोरी  आफ्ना बुढा आमा-बालाई छोडेर बसेको अनी कुनै दिन देश फर्किने बाटोको कानुनी काडा वा इम्मीग्रेशनको अमिल्दो बादल हटने प्रतिक्षामा छन.
       यहाँ हरेकसंग आफ्ना मार्मिक कथा ब्यथाहरू छन.हरेकको  कथामा समानता भनेको बिछोड नै छ.नेपालबाट अमेरिका जान्छु वा जादै छु भन्ने उत्साह भिसा लिएको बेलामा  हुन्छ त्यो उत्साह एयरपोर्टबाट अमेरिकाको शहरतीर पस्दा बिस्तारै कमी हुदै जान्छ अनि थाहा हुन्छ अमेरिका एउटा यस्तो फल हो जुन नखादा सम्म पनि के हो के हो  खाऊ खाऊ  लाग्छ ,खाई सके पछी पनि के खायो के खायो जस्तो लाग्छ.
           सामान्यतया नेपालीहरु कि त डी भि भिसा परे पछी वा बिभिन्न कार्यक्रमको शिलशिलमा ट्राभल अथवा बिजनेस भिसा वा  बिद्यार्थीहरु  अध्ययनकोक्रममा स्टुडेंट भिसा मार्फत अमेरिका आइपुग्छन.अमेरिका आउदा लिएको  दुईतर्फी हवाई टिकट प्रायको लागी एक तर्फीनै साबित हुन्छ. त्यो फर्कने  दिन थोरैलाई मात्र थाहा हुन्छ अमेरिका आईसके पछि.
अमेरिका आएर केही सिकेर पढेर  नेपाल फर्कनेहरु अहिले सम्म गन्ति गरेर सकिने सम्मको छ भने अमेरिका आइसके पछि फर्किने टिकट लाईमात्र नेपाल पठाउनेहरु म सहित अनगिन्ति छन.अमेरिकाको माटोमा टेक्नु नै  संपूर्ण धन, ज्ञान प्राप्त गर्नु कै रूप हेर्नु हुन्छ मेरा साथिहरु,दाई,बहिनी र आमा-बा.अमेरीका प्रबेश गरी सके पछि मात्र बुझछ्न अमेरिका महाभारत भन्दा पनि कठिन छ.यो कुनै साधारण लोक कथा जस्तो छैन जुन सजिलै बुझियोस !अमेरिका त बिसंगतिबाद उपन्यास जस्तो पनि छ जसका थुप्रै चरण र उपकथाहरु  छन  यो पढ्दा पढ़दै  हामी सबै हराउछौ.
         डी भि भिसा परेर अमेरिका आइसकेकाहरूले धेरै किसिमको दुख भोग्नु पर्छ. डि भी  परेकाहरुलाई सुरुका केही महिना सोइसियल सेक्यूरिटी ,स्टेट आई डी , र ग्रीन कार्ड हात पर्ने चिन्ता हुन्छ र त्यस पछिको  चिन्ता भनेको कामको नै हो.डी.भि. परेपछि काठमान्डौमा चलाई रहेको  प्राथमिक स्तरको बोर्डिंग स्कुल  छोडेर  धुर्बदाई  अमेरिका आउनु भयो.नेपालमा आफुले प्राप्त गरेको  शिक्षा डिग्री, अध्ययन अनुभब आदि इत्यादिले यती खेर कुनै सहयोग गरेन अमेरिकामा काम पाउन लाई.यहाँ अरु शिक्षा  लिएर केही गरौन  त भन्दा उमेरले ४० काटी सक्यो , छोरा छोरी श्रीमती छन पढ़न जाऊ खर्च चाहिन्छ नपढौ  अन्य शिप छैन के गर्ने त ?सजिलो काम की त सुपर मार्केटमा क्याशिएर बनेर पैसा गन्ने वा रेस्टुरेंटमा काम गर्ने..जहा जे  गरे पनि ग्राहककों सेवा गर्ने काम बाहेक  अर्को अबसर छैन.त्यही काम गर्दा गर्दै धुर्बदाईको दैनिकी बिती रहेछ.भाउजु पनि त्यस्तै ग्राहक सेवा नै गर्नु  हुन्छ. छोरा छोरी स्कुल जान्छन.मुश्किलले यो ४ परिवारले एकै साथ खाना खान्छन.भेट हुने त झन टाढाको कुरा!यहाको स्वरुप नै यस्तो छ.छोरा छोरीको स्कुल बिदाको दिन आमा बाको काम हुन्छ.आमा बाको छुट्टीको दिन छोरा छोरीको स्कुल हुन्छ. लोग्नेको बिदा हुदा श्रीमतीको काम.श्रीमतिको बिदा हुदा लोग्नेको काम!हेर्दा सामान्य लाग्ने तर धेरै दुख लाग्दो  दैनिकी छ ध्रुब दाईको.बिहान ९ बजे कामको लागी हिडे पछि  राती ९ बजे घर फर्किदा छोरा छोरीहरु भोली बिहान समयमै स्कूल पुग्न  सूती सकेका हुन्छ्न.
यतिखेर धुर्ब दाई छोरा छोरी कै लागी भए पनी अमेरिका छोड़न सक्दैनन.
           भिजिटर भिसामा  ६ महिनाको अमेरिका भित्र बस्न अनुमति पाएका शेखरको कुरा गरौ.अमेरिकामा बेरोजगारी बढ़ी रहेको छ.लाखौले रोजगार गुमाई रहेका छन.आर्थिक मन्दि छ.ग्राहकहरु खर्च कम गरी रहेका छन तै पनि  शेखर आएको १ हप्तामै  एउटा स्टोरमा काम पाए.बस्नलाई साथिभाई पनि भेटे.कुनै समस्या भएन २,४ महिना बितीसक्यो पत्तै नपाई.तर उनी चिन्तित छन कसरी कागज पत्र बनाउन सकिन्छ र अमेरिकाको ग्रीन कार्ड पाउन सकिन्छ भनेर .अब बल्ल बल्ल आइएको छ फर्कने त कुरा हुदैन नया नेपाल को लहर चले पनि त्यो उनको लागी नया भएन उनी अब के गरेर हुन्छ यतै बस्ने जोर जाम गर्दै छन.के के गर्न सकिन्छ त्यस्को बारेमा पाछिल्लो लेखोटमा चर्चा गरौला.
          सबिताले काठमान्डौ भिसा लिदा अमेरिकाको राम्रै नाम चलेको बिश्व बिध्यालय मार्फ़त आई २० पाइन ,भिसा लिइन र पढ़न भनेर उक्त बिश्व बिध्यालय पनि पुगिन .एकसेमेस्टर सक्न पनि उनलाई धौ धौ भयो खर्चको कारणले . अब उनी बिस्तारै न्यूयोर्कको सामुदायिक कलेजमा स्थान्तरण गर्दै छिन जहा उनी थोरै खर्चले पढ़न पनि सक्छिन र  काम पनि सजिलोसंग पाउन सक्छिन.तर पनी ४, ४ बर्ष कसरी पढेर साध्य हुन्छ भन्छिन न राम्ररी पढ़न सकिन्छ न केही कमाउन नै.सजिलो छैन बिद्यार्थी जीबन !पढाईको लागी सम्पूर्ण समय दिनुनै पर्छ नत्र बिद्यार्थी स्टाटस  कायम नहुन सक्छ.उनी फेरी यहाको डिग्री लिएर  नेपाल फर्किने  सुरमा पनी छैनन . डिग्री लिएर नेपालनै फर्किने भए नेपालको एउटा डिग्री हुदा हुदै किन फेरी पढ़न आईन्थो यहाँ!कसरी हुन्छ यतै घर जम गर्ने हो  सबिता सुनाउछिन तर कसरी ?त्यो बाटो उनले पनि सजिलै भेटन सकेकी छैनन.
       यसरी अमेरिका प्रबेश पछि अनेक थरि दुःख चिन्तामा हरेकको दिन बित्तछ.कागज़ पत्र नहुनेहरु कागज़ पत्र ,कागज़ पत्र हुनेहरु  राम्रो र धेरै पैसा आउने काम,कागज़ पत्र र राम्रो काम हुनेहरु  आफ्नो नाम र यी सबै हुनेहरु  कसरी बिभिन्न संघ सस्था मार्फ़त रास्ट्रीय अंतरास्ट्रीय स्तरमा आउन सकिन्छ भन्ने चिन्तामा लागी रहन्छन र थोरैले नेपालको बारेमा सोच्छन.
      तर बर्तमानमा आफ्नो बारेमा सोची दिने कोही नभएको बेलामा नेपालको बारेमा सोच्न अझै केही बर्ष अमेरीकाको प्राय जसो हरेक शहरमा  नेपालीहरु नेपालीमन र नेपालीपन लिएर बसी रहेका छन. 

हराउदा

Filed under: Story

कथा

हराउदा
सहदेव पौडेल
 


 
……………………र आज म फेरी हराए.जती जती यो शहरमा पुरानो हुदै गैरहेछु म त्यति त्यति हराइरहन्छु.धेरै कारणहरुले म फराकिला सड़कहरुमा अल्मलिरहदा बाटामा हिडेकाहरु     "can i help you?" भनी सोध्छन.हो मलाई help चाहिएको छ तर मलाई चाहिएको help को फेहरिस्त सुनाउन थाल्दा उनीहरु मलाई "Are you crazy?" भन्लान भन्ने डरले म "No Thanks " भन्छु र  आफ्नु ठाऊ भेटिए जस्तै  अगाडी बढ्छु.सड़क यती फराकिलो छ की  बाटो काटने बत्ती बलेको छ तर हिड्दा हिड्दै  बिचमै रातो बत्ती  झ्याप्प बलिदिन्छ र म बेगबान संग दौडेका मोटर कारको बिच सडकमा डर पुर्बक  उभिन्छु.र  फेरी बाटो काटने बत्ती बले पछि    पहिलाकै स्थानमा फर्किन्छु .मलाई जानु कही छैन ..पुग्नु पर्ने कही छैन ..ठुलो हिउको बर्षा भए पनि मेरा आफ्नाहरू बाटामै  अडकिएकि भने डर  मलाई छैन ..अथवा निरन्तरको झरीले घर कोठाको छानु रसाउला  वा भित्ताहरु  मक्काउला भन्ने चिन्ता पनि छैन .म एकलास हिडी  रहेछु ..लाग्छ हराई रहेछु  तर होइन वास्तबमा म पहिला कहिल्यै नपुगेको ठाउमा पुगिरहेछु .

                 मौसमको पनि ठेगान नहुने यो शहरमा  एक्कासी पानी बर्षि दिन्छ.म पानीमा रुझ्दै ओत लाग्ने ठाउको खोजीमा दोड्न्छु . पानीको दर्कन दरिलो छ . मन मनले एउटा छाता पाए पनि हुन्थ्यो भन्ने कामना गर्छु…फटाफट  अगाडी बड़दा   फोहर फाल्ने  कन्टेनरको छेवैमा अलीकती बांगिएर  फलिएको  छाता भेट्छु  जुन म  भोकाएको बेलामा खानेकुरा भेटे जस्तै टिप्छु  र  एउटा आकर्षक  भब्य भवनको  अगाडी उभिन्छु ..म मेरो अगाडी उभिएको भब्य भबनको  बारेमा जिज्ञासु बन्छु ….थाहा लाग्यो यो भवन एउटा संग्रहालय रहेछ.पानीमा बाहिर रुझेर बस्नु भन्दा संग्रहालयको दर्शन गर्नु  उचित ठानी म भित्र छिर्छु. आफ्नो खुशिले जति पनि प्रबेश शुल्क  तिर्दा हुने  रहेछ .म पनि गच्छे अनुसार  तिरेर  भित्र पसे . अन्तरास्ट्रिय  स्थरको अति भब्य  संग्रहालय भित्र छिर्दा मलाई आनन्दको अनुभब भयो.तथापि म कलाको कुनै पारखी थीईन.   म क्रमश संग्रहालय भित्र राखिएका बिबिध   सामग्री संग संगै  संग्रहालय हेर्न आउनेहरुको  पनि अध्ययन  गर्न थाले.सफा शान्त र सुन्दर देखिने युवा युवती  प्रौढहरु शान्त स्वरमा  गुनगुनाई रहेछन  कलाको बोली.म यसै उसै अलमली रहेछु ,कल्पिन्छु यसै ठुलो  भवनमा एउटा सानो कामनै पाए पनि कस्तो सौभाग्य हुन्थ्यो होला ..सफा ठाउमा ,सफा सुन्दर मान्छेहरु आउने ठाउमा काम गर्दा मन पनि शान्त होला …अली अली भए पनि कलाको बारेमा जानिथ्यो होला.  अन्य ठाउमा  भन्दा दुई चार पैसा बढि पनि पाईन्थ्यो होला …आदि यस्तैमा मन डुलाउदै डुलाउदै म संग्रहालयको   माथिल्लो तलामा  उक्लिन्छु.
                              
       मधुरो प्रकाशमा म हाम्रै गाउ घर तिरको  देबताका मुर्तिहरुलाई सफा सुग्घर  गरी कुनै शिशाको बाकश भित्र  शान्त बसेको देख्छु. हातले तत्काल छाती र निधार छुन पुग्छु. ओ हो म कस्तो खुशी भएको!  अपरिचित शहरमा कहिलेकाही नेपाली आवाज अथवा नेपाली साथी भाई भेटे जस्तो !कत्ति खुशी हुदै कुरा गर्छौ नि हामी एक्कासि परदेशी शहरमा नेपालीहरु भेट भयो भने …ओ हो तपाइपनि  नेपाली हुनु हुदो रहेछ ….कहा हो नि नेपाल घर…..ए   ..त्यहा त मेरो पनि अफन्त छन नि……ए ..हो नि…चिन्छु नि…….अनि हामी कती चाढै परिचित आफन्त हुन्छौ …
मलाई यी देबताका मुर्तिहरू भेट्दा पनि त्यस्तै लाग्यो..म एक्लै बोले.ओ हो.. गणेश भगवान..!तपाई यहाँ?!मलाई चिन्नु हुन्छ नि..?.. म… तपाईलाई  बेला बेलामा  पूजा गर्न आउथे…घर बजार गर्दा दिनकै  दर्शन गर्थे….चिन्नु हुन्छ नि होइन?तपाई त पुरा बदलिनु भएछ. शहरमा सफा सुग्घर हुनु भएछ. निधारमा टिका अबीर पनि छैन  ..फूल अक्षता  पनि देख्दिन ..न त  मुखमा लड्डू नै छ..धुपको मिठो बासना पनि आउदैन तपाईको  वरीपरी !
म एकोहोरो बोली रहे  गणेश भगवानको मूर्ति अगाडी .तपाई त निकै भाग्यमानी हुनु हुदो रहेछ.महँगा महँगा मान्छेहरु भेटन आउछन..तपाईको  बारेमा जान्छ्न बुझ्छन …खोइ त तपाईको को वरि परी   भेटीहरु देखिन्न नि ? गाउघर तीर तपाई चोकमा उभिनु भएको छ भने सात गाउलाई थाहाहुन्छ तपाई त्यहा हुनु हुन्छ भन्ने.!   तपाई यस्तो भीड़ भाडको  शहरमा  बसेको ख़बर यहि  बाटो हिड्ने बटुवालाई पनि थाहा हुदैन.खै तपाईको दैबि शक्ति?    म गणेशको मुर्तिलाई वरीपरी  बाट नियाल्न थाले!मैले यती नजिक भएर गणेशको दर्शन गरेको थीइन.उनको लामो  शुंणले   दुख सुखको भाब लुकाएको थियो.जसरी म परदेश जादै छु भन्ने सुन्दा मेरी आमाले आखाबाट आंशु लुकाएकि थीईन छाती दरिलो परेर .
                      .अब त बाहिर  पानी पनि रह्यो होला  भनी म पुन छाती र निधार  हातले छुवाउदै  गणेशको मूर्तिबाट बिदा लिदै फर्किए .. एक्कासी मेरो नाम लिएर मलाई कसैले बोलायो.यो अपरिचित शहरमा मेरो नाम जान्ने को होला र?र फेरी यो संग्राहलयमा? मलाई अचम्म लाग्यो…वरि परी तुरुन्तै कसैलाई देखिन….सायद भ्रम थियो.म पुन अगाडी बड़े .फेरी तेही लवजमा मेरो नाम लिएर मलाई बोलाइयो.ओ हो  अचम्म!गणेश भगवान त्यो बन्द शिशाको बाकसबाट  बहिर निस्कदै मलाई बोलाउदै रहेछन म अचम्मित भए ..त्यो छणमा अगाडि बढेर गणेशको पाऊ छुनु बाहेक मेरो मनमा तत्काल अरु केहि आएन!
गणेशले मन्द स्वरमा भने"सहदेव ,तिमी पनि खाली हात आयौ? येसो अबीर केशरी,फूल  अक्षता ,लड्डू धुप बत्ती केहि ल्याएनौ?"
म शब्द हीन भए.के भन्ने? के बोल्ने ?म अल्मलिए …र भने तपाई यहाँ हुनु हुन्छ भनेर थाहापनी थिएन.र तपाईलाइ भेट्न भनेर म यहाँ आएको पनि  थीईन .म त यसो घुम्दा घुम्दै हराएर   भित्र छिरेको थीए.तपाई संग भेट भो.
गणेश मन्द स्वरमा भन्दै थिए."मलाई यहाँ बस्नु छैन…म यो शिशाको बाकस भित्र बस्दा बस्दा  सार्है कमजोर भईरहेछु.धुप बत्ती फूलको बासना र रंगहरु नहुदा  देबत्वहिन भएको छु."
मैले निर्दोषी भाबमा  भने"हेर्नुस मैले चाहेर पनि तपाईलाई यहाँ फूल अक्षता  चढाउन सक्दिन.धुप बत्ती बाल्न सक्दिन.र   यो शिशाको घरबाट बाहिर लाने कुरा त सोच्न पनि सक्दिन .
"म यहाँ नियास्रिएको छु" सहदेव.भजन नसुनेको जुगौ भयो.हरेक बर्ष म मेरो जन्म तिथि पनि बिर्सन्छु.कसैले कुनै चाढ पर्बको सम्झना गराउदैनन. यहाँ बस्ने वातावरण नै छैन", गणेशले भने.
"हो तपाई मन्दिरमा हुनु पर्थ्यो.यो परदेशको  संग्रहालय  त तपाईको लागी एउटा शरणार्थि शिबिर जस्तै छ,लाग्थ्यो हामी मात्रै  यहाको शरण मा छौ….तर तपाई पनि हामी जस्तै  हुनु हदों रहेछ….म केहि गर्न सक्दिन…भगवान !
गणेशले  मलाई एकोहोरो सुनु रहे .मैले पनि  एकोहोरो सुनी रहे.
जब हामी हाम्रो माटो बाट टाढिन्छौ   त्यहि माटोको गन्ध जहा पनि कहा पाउछौ र ?त्यहि माटोको हिलो पानी लागोस भन्छौ  र फेरी माटोबाट टाढिन्छौ पनि!गणेशले  मेरो आँखाको भाब  पढि रहे…म पनि गणेशको  आखा भाब पढि रहे.साच्चै  उनको आखामा कुनै देव भाब थिएन.मेरो पनि त  पीडा गणेशको  भन्दा कहा कम छ र?मेरो   हात र निधारहरुमा अबीर केशरी, नलागेको बर्षौ भई सक्यो.धुपको मिठो बासना  पनि हराएको छ..
               हाम्रो  भावना मिले पछि हामी साधारण कुरा कानी गर्न थाल्यौ.मैले सोधे" नेपालमा तपाई कहा बस्नु हुन्थ्यो?
काठमांडौ कै  कुनै प्राचीन मन्दिरमा  गणेशले भने.
कती बर्ष देखि हुनु हुन्थ्यो त्यहा?मैले थप जिज्ञास राखे. त्यस्तै १५औ /१६औ  सताब्दी देखि . गणेशले सम्झिदै भने.
अनि यता आउनु भएको कत्ति भयो नि? मेरो प्रश्न नसकिदै गणेशले भने "म यता आको होइन मलाई कसैले ल्याएको हो."
                          हो नि.. म मेरो सपना ले  यहाँ आई पुगे….तपाई अरु कसैको सपनाले यहाँ आइपुग्नु भयो.तपाई नेपालमै हुनु भएको भए पनि अहिले  सम्म अन्य कतैको शरणमा पुराईनु हुन्थ्यो..अहिले तपाई र म दुबै यहाँ छौ.सुरक्षित छौ शरणमा ….तर आफ़्नो  खुसी र रहरमा छैनौ.   हामी सबै तपाई जस्तै शिशाको बाकसबाट बहिर निस्कन चाहन्छौ.तर निस्केर कहा जाने?देशबाट आज भोली थुप्रै  तपाई जस्तै देबता र म जस्तै  जनता परदेशमा  शरणमा छौ.हामी एकछीन बहकिएर कुरा गर्यौ.मैले गणेशलाई सान्तवना स्वरुप भने "हेर्नुस म एउटा साधारण मनुवा हु.मेरो आफ्नै पीडा छ.म आफै हराएको छु.तपाईलाइ यहा बाट बहिर लगेर म सुरक्षा दिन पनि सक्दिन.देशै फर्काए भने पनि फेरी भोली कसैले तपाईलाई फेरी अन्यत्र   कतै   सुरक्षाको नाममा लगिने छ.म पनि तपाई संगै फर्के भने फेरी  अर्को सपनाले र सुरक्षाले अन्त कतै शरणमा पुग्नु पर्ने हुन्छ.यति खेर म तपाईलाई मन बाट मात्रै पूजा गर्न सक्छु.
                          गणेश र म निकै बेर सुस्त सुस्त  एक अर्काको  पीडा सुन्दै सुनाउदै   थियौ. यसो आंखा उठाएर हेर्छु त  वरी परी  कृष्ण,राम सीता,लक्ष्मी,बिष्णु, लगायत  अन्य देबी देबताहरू वरी परी  नियाउरो अनुहार बनाएर  हाम्रो पीडा-लाप सुँदै रहेछन  सबैको आखामा एउटा आशा लाग्दो हेराई   थियो म   माथि !कुनै युद्द ग्रस्त गाउमा सहयोगको लागी पुगेको शान्ति सेनाको युवकलाई  युद्द पीड़ितहरुले केहि पाउने आशाले हेरे जस्तै मलाई यी देब देबिले हेरी रहे.म त रित्तो थीए..हराएको थिए.म उनिहरुको उद्दार गर्न असमर्थ थिए .  यी संपूर्ण  देबी देबतालाई अकस्मात    यसरी भेट्दा मैले थुप्रै थुप्रै आशिर्बचन  माग्नु पर्थ्यो. तर उनिहरुको आँखामा  कुनै देव शक्ति थिएन…जसलाई म आफु  हराएर भेटेको थिए…..उनिहरु पनि हराएर मलाई भेटेका थिए.हामी सबै बिहीन थियौ.हाम्रो शब्द बिहीन  बर्तालाप निकै बेर चल्यो.बर्षौ पछि भेटेर निशब्द भएका प्रेमीहरू जस्तै !
मन मनले भने  म घरमा गएर तपाईहरुको नाममा  धुप बत्ती बालौला अनि …..अरु के के   बोल्दै थिए….संग्राहलयमा  एक्कासी बत्ती निभ्यो र आवाज आयो"The Museum is Closed Now"
                   म फर्की फर्की देबी देबताको अनुहार हेर्दा   हेर्दै सबै अन्धकारमा हराए.म छाम छाम छुम छुम गर्दै बाहिर निस्किए.पानी रोकिएको थियो.साझको झिलिमिलि बत्ती बाटो भरी बलि सकेको रहेछ …..तर पनि म हिड्ने बाटो भने अझै अन्धकार थियो…..






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.