हराउदा
कथा
……………………र आज म फेरी हराए.जती जती यो शहरमा पुरानो हुदै गैरहेछु म त्यति त्यति हराइरहन्छु.धेरै कारणहरुले म फराकिला सड़कहरुमा अल्मलिरहदा बाटामा हिडेकाहरु "can i help you?" भनी सोध्छन.हो मलाई help चाहिएको छ तर मलाई चाहिएको help को फेहरिस्त सुनाउन थाल्दा उनीहरु मलाई "Are you crazy?" भन्लान भन्ने डरले म "No Thanks " भन्छु र आफ्नु ठाऊ भेटिए जस्तै अगाडी बढ्छु.सड़क यती फराकिलो छ की बाटो काटने बत्ती बलेको छ तर हिड्दा हिड्दै बिचमै रातो बत्ती झ्याप्प बलिदिन्छ र म बेगबान संग दौडेका मोटर कारको बिच सडकमा डर पुर्बक उभिन्छु.र फेरी बाटो काटने बत्ती बले पछि पहिलाकै स्थानमा फर्किन्छु .मलाई जानु कही छैन ..पुग्नु पर्ने कही छैन ..ठुलो हिउको बर्षा भए पनि मेरा आफ्नाहरू बाटामै अडकिएकि भने डर मलाई छैन ..अथवा निरन्तरको झरीले घर कोठाको छानु रसाउला वा भित्ताहरु मक्काउला भन्ने चिन्ता पनि छैन .म एकलास हिडी रहेछु ..लाग्छ हराई रहेछु तर होइन वास्तबमा म पहिला कहिल्यै नपुगेको ठाउमा पुगिरहेछु .
मौसमको पनि ठेगान नहुने यो शहरमा एक्कासी पानी बर्षि दिन्छ.म पानीमा रुझ्दै ओत लाग्ने ठाउको खोजीमा दोड्न्छु . पानीको दर्कन दरिलो छ . मन मनले एउटा छाता पाए पनि हुन्थ्यो भन्ने कामना गर्छु…फटाफट अगाडी बड़दा फोहर फाल्ने कन्टेनरको छेवैमा अलीकती बांगिएर फलिएको छाता भेट्छु जुन म भोकाएको बेलामा खानेकुरा भेटे जस्तै टिप्छु र एउटा आकर्षक भब्य भवनको अगाडी उभिन्छु ..म मेरो अगाडी उभिएको भब्य भबनको बारेमा जिज्ञासु बन्छु ….थाहा लाग्यो यो भवन एउटा संग्रहालय रहेछ.पानीमा बाहिर रुझेर बस्नु भन्दा संग्रहालयको दर्शन गर्नु उचित ठानी म भित्र छिर्छु. आफ्नो खुशिले जति पनि प्रबेश शुल्क तिर्दा हुने रहेछ .म पनि गच्छे अनुसार तिरेर भित्र पसे . अन्तरास्ट्रिय स्थरको अति भब्य संग्रहालय भित्र छिर्दा मलाई आनन्दको अनुभब भयो.तथापि म कलाको कुनै पारखी थीईन. म क्रमश संग्रहालय भित्र राखिएका बिबिध सामग्री संग संगै संग्रहालय हेर्न आउनेहरुको पनि अध्ययन गर्न थाले.सफा शान्त र सुन्दर देखिने युवा युवती प्रौढहरु शान्त स्वरमा गुनगुनाई रहेछन कलाको बोली.म यसै उसै अलमली रहेछु ,कल्पिन्छु यसै ठुलो भवनमा एउटा सानो कामनै पाए पनि कस्तो सौभाग्य हुन्थ्यो होला ..सफा ठाउमा ,सफा सुन्दर मान्छेहरु आउने ठाउमा काम गर्दा मन पनि शान्त होला …अली अली भए पनि कलाको बारेमा जानिथ्यो होला. अन्य ठाउमा भन्दा दुई चार पैसा बढि पनि पाईन्थ्यो होला …आदि यस्तैमा मन डुलाउदै डुलाउदै म संग्रहालयको माथिल्लो तलामा उक्लिन्छु.
मधुरो प्रकाशमा म हाम्रै गाउ घर तिरको देबताका मुर्तिहरुलाई सफा सुग्घर गरी कुनै शिशाको बाकश भित्र शान्त बसेको देख्छु. हातले तत्काल छाती र निधार छुन पुग्छु. ओ हो म कस्तो खुशी भएको! अपरिचित शहरमा कहिलेकाही नेपाली आवाज अथवा नेपाली साथी भाई भेटे जस्तो !कत्ति खुशी हुदै कुरा गर्छौ नि हामी एक्कासि परदेशी शहरमा नेपालीहरु भेट भयो भने …ओ हो तपाइपनि नेपाली हुनु हुदो रहेछ ….कहा हो नि नेपाल घर…..ए ..त्यहा त मेरो पनि अफन्त छन नि……ए ..हो नि…चिन्छु नि…….अनि हामी कती चाढै परिचित आफन्त हुन्छौ …
मलाई यी देबताका मुर्तिहरू भेट्दा पनि त्यस्तै लाग्यो..म एक्लै बोले.ओ हो.. गणेश भगवान..!तपाई यहाँ?!मलाई चिन्नु हुन्छ नि..?.. म… तपाईलाई बेला बेलामा पूजा गर्न आउथे…घर बजार गर्दा दिनकै दर्शन गर्थे….चिन्नु हुन्छ नि होइन?तपाई त पुरा बदलिनु भएछ. शहरमा सफा सुग्घर हुनु भएछ. निधारमा टिका अबीर पनि छैन ..फूल अक्षता पनि देख्दिन ..न त मुखमा लड्डू नै छ..धुपको मिठो बासना पनि आउदैन तपाईको वरीपरी !
म एकोहोरो बोली रहे गणेश भगवानको मूर्ति अगाडी .तपाई त निकै भाग्यमानी हुनु हुदो रहेछ.महँगा महँगा मान्छेहरु भेटन आउछन..तपाईको बारेमा जान्छ्न बुझ्छन …खोइ त तपाईको को वरि परी भेटीहरु देखिन्न नि ? गाउघर तीर तपाई चोकमा उभिनु भएको छ भने सात गाउलाई थाहाहुन्छ तपाई त्यहा हुनु हुन्छ भन्ने.! तपाई यस्तो भीड़ भाडको शहरमा बसेको ख़बर यहि बाटो हिड्ने बटुवालाई पनि थाहा हुदैन.खै तपाईको दैबि शक्ति? म गणेशको मुर्तिलाई वरीपरी बाट नियाल्न थाले!मैले यती नजिक भएर गणेशको दर्शन गरेको थीइन.उनको लामो शुंणले दुख सुखको भाब लुकाएको थियो.जसरी म परदेश जादै छु भन्ने सुन्दा मेरी आमाले आखाबाट आंशु लुकाएकि थीईन छाती दरिलो परेर .
.अब त बाहिर पानी पनि रह्यो होला भनी म पुन छाती र निधार हातले छुवाउदै गणेशको मूर्तिबाट बिदा लिदै फर्किए .. एक्कासी मेरो नाम लिएर मलाई कसैले बोलायो.यो अपरिचित शहरमा मेरो नाम जान्ने को होला र?र फेरी यो संग्राहलयमा? मलाई अचम्म लाग्यो…वरि परी तुरुन्तै कसैलाई देखिन….सायद भ्रम थियो.म पुन अगाडी बड़े .फेरी तेही लवजमा मेरो नाम लिएर मलाई बोलाइयो.ओ हो अचम्म!गणेश भगवान त्यो बन्द शिशाको बाकसबाट बहिर निस्कदै मलाई बोलाउदै रहेछन म अचम्मित भए ..त्यो छणमा अगाडि बढेर गणेशको पाऊ छुनु बाहेक मेरो मनमा तत्काल अरु केहि आएन!
गणेशले मन्द स्वरमा भने"सहदेव ,तिमी पनि खाली हात आयौ? येसो अबीर केशरी,फूल अक्षता ,लड्डू धुप बत्ती केहि ल्याएनौ?"
म शब्द हीन भए.के भन्ने? के बोल्ने ?म अल्मलिए …र भने तपाई यहाँ हुनु हुन्छ भनेर थाहापनी थिएन.र तपाईलाइ भेट्न भनेर म यहाँ आएको पनि थीईन .म त यसो घुम्दा घुम्दै हराएर भित्र छिरेको थीए.तपाई संग भेट भो.
गणेश मन्द स्वरमा भन्दै थिए."मलाई यहाँ बस्नु छैन…म यो शिशाको बाकस भित्र बस्दा बस्दा सार्है कमजोर भईरहेछु.धुप बत्ती फूलको बासना र रंगहरु नहुदा देबत्वहिन भएको छु."
मैले निर्दोषी भाबमा भने"हेर्नुस मैले चाहेर पनि तपाईलाई यहाँ फूल अक्षता चढाउन सक्दिन.धुप बत्ती बाल्न सक्दिन.र यो शिशाको घरबाट बाहिर लाने कुरा त सोच्न पनि सक्दिन .
"म यहाँ नियास्रिएको छु" सहदेव.भजन नसुनेको जुगौ भयो.हरेक बर्ष म मेरो जन्म तिथि पनि बिर्सन्छु.कसैले कुनै चाढ पर्बको सम्झना गराउदैनन. यहाँ बस्ने वातावरण नै छैन", गणेशले भने.
"हो तपाई मन्दिरमा हुनु पर्थ्यो.यो परदेशको संग्रहालय त तपाईको लागी एउटा शरणार्थि शिबिर जस्तै छ,लाग्थ्यो हामी मात्रै यहाको शरण मा छौ….तर तपाई पनि हामी जस्तै हुनु हदों रहेछ….म केहि गर्न सक्दिन…भगवान !
गणेशले मलाई एकोहोरो सुनु रहे .मैले पनि एकोहोरो सुनी रहे.
जब हामी हाम्रो माटो बाट टाढिन्छौ त्यहि माटोको गन्ध जहा पनि कहा पाउछौ र ?त्यहि माटोको हिलो पानी लागोस भन्छौ र फेरी माटोबाट टाढिन्छौ पनि!गणेशले मेरो आँखाको भाब पढि रहे…म पनि गणेशको आखा भाब पढि रहे.साच्चै उनको आखामा कुनै देव भाब थिएन.मेरो पनि त पीडा गणेशको भन्दा कहा कम छ र?मेरो हात र निधारहरुमा अबीर केशरी, नलागेको बर्षौ भई सक्यो.धुपको मिठो बासना पनि हराएको छ..
हाम्रो भावना मिले पछि हामी साधारण कुरा कानी गर्न थाल्यौ.मैले सोधे" नेपालमा तपाई कहा बस्नु हुन्थ्यो?
काठमांडौ कै कुनै प्राचीन मन्दिरमा गणेशले भने.
कती बर्ष देखि हुनु हुन्थ्यो त्यहा?मैले थप जिज्ञास राखे. त्यस्तै १५औ /१६औ सताब्दी देखि . गणेशले सम्झिदै भने.
अनि यता आउनु भएको कत्ति भयो नि? मेरो प्रश्न नसकिदै गणेशले भने "म यता आको होइन मलाई कसैले ल्याएको हो."
हो नि.. म मेरो सपना ले यहाँ आई पुगे….तपाई अरु कसैको सपनाले यहाँ आइपुग्नु भयो.तपाई नेपालमै हुनु भएको भए पनि अहिले सम्म अन्य कतैको शरणमा पुराईनु हुन्थ्यो..अहिले तपाई र म दुबै यहाँ छौ.सुरक्षित छौ शरणमा ….तर आफ़्नो खुसी र रहरमा छैनौ. हामी सबै तपाई जस्तै शिशाको बाकसबाट बहिर निस्कन चाहन्छौ.तर निस्केर कहा जाने?देशबाट आज भोली थुप्रै तपाई जस्तै देबता र म जस्तै जनता परदेशमा शरणमा छौ.हामी एकछीन बहकिएर कुरा गर्यौ.मैले गणेशलाई सान्तवना स्वरुप भने "हेर्नुस म एउटा साधारण मनुवा हु.मेरो आफ्नै पीडा छ.म आफै हराएको छु.तपाईलाइ यहा बाट बहिर लगेर म सुरक्षा दिन पनि सक्दिन.देशै फर्काए भने पनि फेरी भोली कसैले तपाईलाई फेरी अन्यत्र कतै सुरक्षाको नाममा लगिने छ.म पनि तपाई संगै फर्के भने फेरी अर्को सपनाले र सुरक्षाले अन्त कतै शरणमा पुग्नु पर्ने हुन्छ.यति खेर म तपाईलाई मन बाट मात्रै पूजा गर्न सक्छु.
गणेश र म निकै बेर सुस्त सुस्त एक अर्काको पीडा सुन्दै सुनाउदै थियौ. यसो आंखा उठाएर हेर्छु त वरी परी कृष्ण,राम सीता,लक्ष्मी,बिष्णु, लगायत अन्य देबी देबताहरू वरी परी नियाउरो अनुहार बनाएर हाम्रो पीडा-लाप सुँदै रहेछन सबैको आखामा एउटा आशा लाग्दो हेराई थियो म माथि !कुनै युद्द ग्रस्त गाउमा सहयोगको लागी पुगेको शान्ति सेनाको युवकलाई युद्द पीड़ितहरुले केहि पाउने आशाले हेरे जस्तै मलाई यी देब देबिले हेरी रहे.म त रित्तो थीए..हराएको थिए.म उनिहरुको उद्दार गर्न असमर्थ थिए . यी संपूर्ण देबी देबतालाई अकस्मात यसरी भेट्दा मैले थुप्रै थुप्रै आशिर्बचन माग्नु पर्थ्यो. तर उनिहरुको आँखामा कुनै देव शक्ति थिएन…जसलाई म आफु हराएर भेटेको थिए…..उनिहरु पनि हराएर मलाई भेटेका थिए.हामी सबै बिहीन थियौ.हाम्रो शब्द बिहीन बर्तालाप निकै बेर चल्यो.बर्षौ पछि भेटेर निशब्द भएका प्रेमीहरू जस्तै !
मन मनले भने म घरमा गएर तपाईहरुको नाममा धुप बत्ती बालौला अनि …..अरु के के बोल्दै थिए….संग्राहलयमा एक्कासी बत्ती निभ्यो र आवाज आयो"The Museum is Closed Now"
म फर्की फर्की देबी देबताको अनुहार हेर्दा हेर्दै सबै अन्धकारमा हराए.म छाम छाम छुम छुम गर्दै बाहिर निस्किए.पानी रोकिएको थियो.साझको झिलिमिलि बत्ती बाटो भरी बलि सकेको रहेछ …..तर पनि म हिड्ने बाटो भने अझै अन्धकार थियो…..
