सूर्योदय भएको छ
सूर्योदय भएको छ
सूर्योदय भएको छ..
अब बिस्तारै उठेर बाटोघाटो सफासुग्घर गर्नुछ
भद्रगोल सरसामान मिलाउनुछ
धुलोमैलो पूछपाछ गर्नुछ..
येताउता परेका मनलाई सम्हाल्नुछ
अनि आँखा चिम्लेर एकै छिन आफै भित्र हराउनुछ ….
सूर्योदय भएको छ.
अब बिस्तारै फुलबारी गोडमेल गरी स्याहर्नुछ
आँगनभरी लागेका झारलेऊ उक्काउनुछ
मधुरो हुदै गएका बत्तीहरु हेरफेर गर्नुछ
चराचुरुन्गीलाई चारा आहार हाल्नुछ
अनि आँखा चिम्लेर एकै छिन आफै भित्र हराउनुछ……
सूर्योदय भएको छ..
अब बिस्तारै खरखजाना किन्मेल गर्नुछ..
रित्तिएका दराजहरूलाइ भरीभराउ पार्नुछ ..
बिर्सियौ की भन्नेलाई सन्चै छ? भनी भलाकुसारी गर्नुछ
सुख दुःखका उकाली ओराली सम्झेर मन दह्रो बनाउनुछ
अनि आँखा चिम्लेर एकै छिन आफै भित्र हराउनुछ……
सूर्योदय भएको छ…
अब बिस्तारै आत्मीय हात समातेर लामो दौड़ दौडनुछ..
थाकेका पसीना सुकाउनुछ..
मधुर संगीतमा आफैलाई बगाउनुछ
मौनतामा चुपचाप आफैलाइ सुन्नुछ
साँझ संगै आँखा चिम्लेर
आज हामी आफै भित्र हराउनु छ…
By Sanu
